बिर्तामोड । रसुवामा आएको भीषण बाढीबाट ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विपद्मा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

सहारा नेपालले एक अपिल जारी गर्दै बाढीमा परी ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, अझै आफ्ना आफन्तको खोजी, खबर र उद्धारको प्रतीक्षामा रहेका परिवारप्रति ऐक्यबद्धता जनाउँदै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

भोटेकोशी नदीमा आएको आकस्मिक भीषण बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, आपत्कालीन राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले सहारा नेपाल तथा कर्मचारीको तर्फबाट ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा १५ लाख रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गरिएको छ।

राष्ट्रिय दुःख र विपद्को यस कठिन घडीमा पीडितको आँसु पुछ्न, विपत्तिमा परेकालाई साथ दिन र पुनःस्थापनाको अभियानमा हातेमालो गर्न सबैलाई आ–आफ्नो इच्छाअनुसार सहयोग गर्न सहारा नेपालले हार्दिक अपिल गरेको सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्र कुमार गिरीले जानकारी दिनुभयो ।

विपद्ले घरबार खोस्दा सहारा बन्ने हातहरू नै मानवीयताको सच्चा परिचय हुन् भन्ने सन्देश दिँदै सहारा नेपालले पीडित नागरिकसँग आफू पनि साथमा रहेको जनाएको छ।