बिर्तामाेड । अन्तराष्ट्रिय लागूऔषध तथा अवैद्य तस्करी बिरुद्ध दिवसकाे अवसरमा झापामा साेमबार दर्जनाै स‌घ सस्थाले प्रभातफेरीसहित सचेतना कार्यक्रम सम्पन्न गरेका छन् ।  

बिर्तामोड नगरपालिका र इलाका प्रहरी कार्यालय अनारमनीको आयोजनामा प्रभातफेरीको आयोजना गरिएको हो । लागूऔषधको प्रयोगले मानव जीवनमा पार्ने असरबारे सचेतना दिने उद्धेश्यले आयोजना गरिएको प्रभावफेरीले बिर्तामोड परिक्रमा गरेको थियो । सोमबार विहान निकालिएको प्रभातफेरीमा बिर्तामोडका विभिन्न संघ संस्था र विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रभातफेरीको समापनलाई सम्बोधन गर्दै बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईले लागुऔषधबाट हरेक नागरिक टाढा रहनुपर्ने बताउनुभयो । उहाँले लागूऔषधका कारण धेरै परिवारको विचल्ली भइरहेको बताउनुभयो । नगर प्रमुख महताराले झापामा नजिकै रहेको भारतबाट ठूलो परिमाणमा लागुऔषध विभिन्न बजारमा आयात भइरहेको भन्दै सबैको पहलबाट त्यसलाई पूर्णरुपमा नियन्त्रण गर्नुपर्ने धारणा राखिन्।

नगर प्रमुख महताराले बिर्तामोडको नीति कार्यक्रममा सुर्तिजन्य पदार्थको विक्रीमा प्रतिवन्ध गरिने नीति लिएको समेत जानकारी दिइन् ।

बिर्तामोडका डिएसपी सुरज कार्कीले पछिल्लो समय अपराधको मुख्य कारण नै लागूऔषध दुर्व्यसन भएको बताए । उनले अपराधिक कर्म गर्नेहरु कतै न कतै लागूऔषधसँग जोडिएको अनुसन्धानबाट खुलेको  भनाइ राखे ।

समाजलाई अपराधमुक्त गर्न लागूऔषध दुर्व्यसनको पूर्ण नियन्त्रण हुनुपर्ने डिएसपी कार्कीको भनाइ थियो । अपराधका लागि लागूऔषधले दुरुत्साहन गरिरहेको भन्दै सबैलाई सजग रहन उनले आग्रह गरेका छन् ।