काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार अवैधानिक भन्दै नेकपा एमाले सर्वोच्च पुगेको छ ।
नेकपा एमालेले संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन गर्दा सभामुखलाई समेत समावेश गरिनु संविधानविपरीत भएको एमालेको दावी छ ।
कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीका तर्फबाट एमाले कोशीका प्रमुख सचेतक रेवतीरमण भण्डारी रिट निवेदन लिएर सर्वोच्च पुगेका हुन् ।
भण्डारीले प्रदेश प्रमुख पर्शुराम खापुङले असंवैधानिकरूपमा थापालाई मुख्यमन्त्री नियुक्त गरेको जिकिरसहित रिट निवेदन सर्वोच्च अदालत पुगेको बताए । ‘म अहिले सर्वोच्चमा रिट लिएर आएको छु । दर्ताको प्रक्रियामा छ’, भण्डारीले भने ।
संविधानको धारा १६८ को उपधारा २ मा प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नसक्ने व्यवस्था छ ।
थापा चार दलको समर्थनमा बिहीबार मुख्यमन्त्री नियुक्त भएका हुन् । उनले बहुमत नपुग्ने भएपछि सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर गरेर प्रदेश प्रमुखसमक्ष दावी पेश भएका थिए ।





























































