बिराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज ५ बजे पद तथा गाेपनियताकाे शपथ ग्रहण गर्ने भएका छन् ।

बहुमत जुटाएर मुख्यमन्त्रीमा दाबी पेस गरेका मुख्यमन्त्री थापाकाे सपथ ग्रहणकाे तयारी हुँदै छ। सपथसँगै सानाे आकारकाे मन्त्री परिषद् विस्तार गर्ने पनि थापाकाे तयारी छ ।

असार २१ मा सभामुख बाबुराम गौतमको पनि समर्थनमा मुख्यमन्त्री बनेका थापालाई साउन ११ मा सर्वोच्च अदालतले  पदमुक्त गरेकाे थियाे । सभामुखकै हैसियतमा सरकार निर्माणमा सामेल भएको भन्दै सर्वोच्च अदालतले थापाको नियुक्ति बदर गर्दै सरकार गठन प्रक्रिया पुनः सुरु गर्न परमादेश दिएको थियो ।

मंगलबार तीनै सभामुख गौतमलाई राजीनामा गराएर थापा पुनः मुख्यमन्त्री नियुक्त भएका हुन् । २६ दिनमा दाेस्राे पटक मुख्यमन्त्री बनेका थापाले विश्वासको मत लिन भने चुनाैती छ ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । थापाकाे पक्षमा ४७ र विपक्षमा ४६ मत छ । विश्वासको मत लिने बैठकमा एमालेले उपसभामुखलाई अनुपस्थित गराए वा राजीनामा गराए सत्तारूढ गठबन्धनबाट बैठकाे अध्यक्षता गर्नुपर्ने हुन्छ ।गठबन्धनबाटै बैठककाे अध्यक्षता गर्नुपर्ने अवस्था आए सरकारलाई विश्वासको मत पाउन कठिन हुनेछ ।