झापा । झापाको बिर्तामोडमा सञ्चालित मनमोहन सामुदायिक अस्पतालले एकपछि अर्काे गर्दै उपचारमा लापरवाही गर्दा सामान्य बिरामीको समेत ज्यान जाने गरेको छ ।
केही महिना अघि बिर्तामोडकी २५ बर्षिया सुत्केरी महिलाको ज्यान गएपछि सो घटना सेलाउन नपाउँदै सोमबार बिर्तामोडकै अर्की ३५ बर्षिय नर्वदा बाँस्कोटा घिमिरेको ज्यान गएको छ । अघिल्लो दिन घुँडा दुख्ने र सुन्निनै समस्या देखापरेपछि सोमबार बिहान अटोरिक्सा चढेर सामान्य अवस्थामै अस्पताल आइपुगेकी नर्वदाको उपचारका क्रममा समस्या जटिल बन्दै केही घण्टामै निधन भएको छ ।
नर्वदाका आफन्त दुर्गा पाठकका अनुसार उनलाई एमरजेन्सीमा भर्ना गरिएको थियो । एमरजेन्सीमा भर्ना गरेको तीन घण्टासम्म पनि डाक्टरले चेकजाँच नगरेको पाठकको आरोप छ । अस्पतालमा कार्यारत नर्सहरुले दुखाई कम गर्न ईन्जेक्सन लगाएपछि उनलाई झन पीडा भएको थियो ।
एक्कासी शरिर पोल्ने र दुख्ने भएपछि बिरामीका आफन्तले चिकित्सक बोलाइदिन आग्रह गरेका थिए । बिहान ८ बजे भर्ना भएकी बिरामीको अवस्था जटिल भएपछि ११ बजे मात्र डाक्टरले चेकजाँच शुरु गरेका थिए । उनलाई डाक्टर सुवेश सौरभले जाँच गरेका थिए ।
स्रोतका अनुसार उनलाई टिटानस भएको थियो । टिटानसको परीक्षणको रिपोर्ट सामान्यतया २ घण्टामा प्राप्त हुन्छ । तर, अस्पतालले साँझ ४ बजेसम्म पनि रिपोर्ट नदिएको आफन्तले बताएका छन् । बिरामीको अवस्था जटिल बन्दै गएपछि सुविधासम्पन्न अस्पतालमा रेफर दिन आग्रह गर्दासमेत अस्पतालले अटेर गरेको पीडितको आरोप छ ।
बिरामीको मृत्यु हुँदासमेत डाक्टरले समय नदिंदा अकालमा उनले ज्यान गुमाएको पीडित परिवारले बताएका छन् । बिरामीको मृत्यु भइसकेपछि कमजोरी ढाकछोप गर्न शवलाई आइसियुमा राखिएको छिमेकी सानु श्रेष्ठले बताइन् ।
के कारणले बिरामीको मृत्यु भएको हो ? भन्ने समेत आफन्तलाई जानकारी नदिई पहिले प्रयोग गरिएको डाक्टरको रिपोर्टसमेत परिवर्तन गरिएको आफन्तको आरोप छ । घिमिरेको मृत्यु अस्पतालका डाक्टरको लापरवाहीका कारण भएको भन्दै सोमबार साँझदेखि अस्पताल अगाडि स्थानीय र आफन्तले आन्दोलन गरिरहेका छन् । मंगलबार दिउसो पुर्व पश्चिम राजमार्गसमेत अवरोध गरेर पीडित परिवार र स्थानीयले आन्दोलन गरेका छन् ।
उनीहरुले मृतकका नावालक छोराछोरीलाई न्याय दिनुपर्ने माग गरेका छन् । मंगलबार दिनभर जसो दुई पक्षबीच वार्ता हुँदासमेत कुनै निष्कर्ष निस्किएको छैन । मृतक नर्वदाको शव अहिलेसम्म आफन्तले बुधmेका छैनन् ।
पटक पटक मनमोहन अस्पतालको लापरवाहीका कारण ज्यान जाने अवस्थाको अन्त्य गर्न भन्दै स्थानीयले उपचारमा लापरवाही गर्ने स्वास्थ्यकर्मीलाई कारवाही गर्नुपर्ने, पीडित परिवारलाई राहत प्रदान गर्नुपर्ने र व्यबस्थापकीय पक्ष सुधार गर्नुपर्ने माग गरेका छन् । छलफलकै क्रममा अस्पताल ब्यवस्थापन समितिका उपाध्यक्ष रविन कोइरालाले पटक पटक यस्ता घटना दोहोरिरहँदा अस्पतालको स्तर खस्कने हुँदा कि अस्पताल बन्द गरिनुपर्ने, कि चै कमजोरी कहाँ छ पत्ता लगाएर त्यसलाई निवारण गर्नुपर्ने बताएका छन् ।



























































