काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा पुगेको नेपालले आफ्नो पहिलो खेल बंगलादेशसँग खेल्ने भएको छ । ‘सुपर सिक्स’ चरणमा नेपाल र बंगलादेशबिचको खेल आगामी बुधबार खेलिनेछ ।यसैगरी ‘सुपर सिक्स’ चरणमा नेपालले आफ्नो दोस्रो खेल आगामी शुक्रबार अर्को टेस्ट राष्ट्र भारतसँग खेल्नेछ ।
समूहगत चरणको खेलमा नेपाल तेस्रो हुँदै ‘सुपर सिक्स’ चरणमा प्रवेश गरेको हो । समूह ‘डी’ मा तीनवटै खेल जितेको पाकिस्तान ६ अङ्कसहित पहिलो, दुई खेल जितेको न्युजिल्यान्ड चार अङ्कसहित दोस्रो र एक खेल जितेको नेपाल दुई अङ्कसहित तेस्रो भएका थिए ।तीनवटै खेलमा पराजित भएको अफगानिस्तान भने समूहगत चरणबाटै बाहिरिएको थियो ।
नेपाली टोली न्युजिल्यान्डसँग ६४ रनले र पाकिस्तानसँग पाँच विकेटले पराजित भएको थियो । नेपालले अफगानिस्तानलाई भने एक विकेटले हराएको थियो ।जारी विश्वकपमा सहभागी १६ टोलीलाई चारवटा समूहमा विभाजन गरिएको थियो । प्रत्येक समूहबाट माथिल्लो तीन स्थानमा रहने टोली प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा पुग्ने प्रावधान छ । ‘सुपर सिक्स’ चरणमा पुगेका टोलीलाई पनि दुई समूहमा विभाजन गरिने छ ।
समूह ‘ए’ र समूह ‘डी’ बाट आएका तीन–तीन टोली एउटा समूहमा परेका छन् । समूह ‘बी’ र समूह ‘सी’ बाट आएका तीन–तीन टोली भने ‘सुपर सिक्स’ चरणको अर्को समूहमा रहेका छन् । ‘सुपर सिक्स’ चरणमा प्रत्येक टोलीले दुई–दुई खेल खेल्नेछन् ।
समूह ‘ए’ को विजेताका रूपमा ‘सुपर सिक्स’ चरणमा पुगेको टोलीले समूह ‘डी’ को विजेतासँग भने खेल्ने छैन । समूह ‘ए’ को विजेताले समूह ‘डी’ को उपविजेता र तेस्रो हुने टोलीसँग मात्र खेल्नेछ । समूह ‘डी’ को विजेताले पनि ‘सुपर सिक्स’ चरणमा समूह ‘ए’ को उपविजेता र तेस्रो हुने टोलीसँग मात्र प्रतिस्पर्धा गर्नेछ ।
प्लेट च्याम्पियनसिपको फाइनलमा नेपालले बलियो टेस्ट राष्ट्र न्युजिल्यान्डलाई एक विकेटले हराएको थियो । त्यसअघि सेमिफाइनलमा नेपालले दक्षिण अफ्रिकालाई दुई रनले पराजित गरेको थियो । यू–१९ विश्वकपमा नेपालले यसअघि टेस्ट राष्ट्र बंगलादेशलाई पनि पराजित गरिसकेको इतिहास छ ।
सन् २००२ को यू–१९ विश्वकप न्युजिल्यान्डमा आयोजना भएको थियो । विश्वकपको यो संस्करणमा नेपालले दोस्रोपटक सहभागिता जनाएको थियो । त्यही विश्वकपमा नेपालले पहिलो पटक टेस्ट राष्ट्र पाकिस्तानलाई ३० रनले हराएको थियो । त्यो विश्वकपमा नेपाली टोली प्लेट च्याम्पियनसिपको उपविजेता पनि बनेको थियो ।
प्लेट च्याम्पियनसिपको फाइनलमा नेपाललाई जिम्बाबेले एक सय ३७ रनले हराएको थियो । त्यसअघि नेपाली टोलीले प्लेट च्याम्पियनसिपको सेमिफाइनलमा बंगलादेशलाई २३ रनले हराएको थियो । यू–१९ विश्वकपमा नेपालले टेस्ट राष्ट्र पाकिस्तान र बंगलादेशका अतिरिक्त दक्षिण अफ्रिका र न्युजिल्यान्डलाई पनि पराजित गरेको छ ।






























































