काठमाडौं : विश्व क्यान्सर दिवस। ‘ बढ्दै छ चुनौती क्यान्सरको ,पहुँच बढाऔँ स्याहारको’भन्ने नाराका साथ मनाइँदै छ। विश्व क्यान्सर दिवस प्रत्येक वर्ष फेव्रूअरी ४ तारिखमा मनाइँदै आएको छ। जसले गर्दा विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ।
नेपालमा वर्सेनी क्यान्सरका बिरामीको संख्या बढिरहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार हाल विश्वमा पाँच जना मध्ये जना व्यक्तिमा क्यान्सर हुने गरेको छ भने करिब ९ मध्ये १ जना पुरुषमा र १२ मध्ये १ जना महिलामा क्यान्सर हुने गरेको छ।
खानपानमा ध्यान पुर्याए मात्रै पनि क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ। वातावरण र खानापानमा उचित ध्यान नदिँदा क्यान्सर रोगका विरामी बढ्दै गएका चिकित्सकको भनाइ छ।
समयमानै पहिचान गरेर सफल उपचार हुने र रोग मुक्त हुन सकिने क्यान्सर बाट नेपालमा वर्षेनी २० हजारले ज्यान गुमाउछन्। बदलिँदो जीवनशैली, खानपान, वंशानुगत र सुर्तीजन्य पदार्थको सेवन गर्नेहरु क्यान्सरको उच्च जोखिममा रहने गर्छन्। यस्तै पछिल्लो समय बढ्दो वातावरण प्रदूषण पनि क्यान्सरको कारक तत्व बन्दै गएको क्यान्सर रोग विशेषज्ञहरु बताउदै आएका छन्।
नेपालमा क्यान्सरका विरामी कति छन् भन्ने यकिन तथ्याङ्क छैन। झन्डै ३ दशक देखी नेपालमा क्यान्सर रोगको विशेषज्ञको रुपमा काम गर्दै आएका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा राजेन्द्रप्रसाद बरालका अनुसार नेपालमा वर्षेनी २८ हजार क्यान्सरका बिरामी थपिन्छ।
जसमा २० हजार जति विरामीको उपचार सफल नभरै मृत्यु हुन्छ। यसको प्रमुख कारण भनेको ढिलो अस्पताल पुग्ने र त्यस बेला सम्म क्यान्सर जटिल अवस्थामा पुगि सकेको हुँदा सफल उपचार नहुनुनै रहेको डा वरालको भनाइ छ।
क्यान्सर रोग विशेषज्ञ डा बरालले भने ‘समयमानै अस्पताल पुगेर सुरुवाती चरणमानै क्यान्सर पत्ता लागे क्यान्सर पूर्ण निको हुन्छ, अहिले झन् यसको उपचारमा नयाँ नयाँ प्रविधी,औषधीहरु थपिदै गएका छन जसले गर्दा क्यान्सर उपचार झनै राम्रो हुँदै गएको छ तर हाम्रो देशमा भने बिरामीहरु प्राय क्यान्सर पहिलो दोस्रो चरणमा रहेको अवस्थामा भन्दा पनि जटिल बनि सकेको अवस्थामा अस्पताल पुग्ने हुँदा अप्ठ्यारो भइरहेको छ’।
बढ्दो वातावरण प्रदुषणले क्यान्सरको जोखिम बढायो
क्यान्सर लाग्ने मुख्य कारण धुमपान तथा सुर्तीजन्य प्रदार्थको सेवन मानिन्छ। सुर्तीजन्य वस्तुहरुको प्रयोगले मुख, नाक, गला, घाँटी र फोक्सो क्यान्सरको जोखिम बढी हुन्छ। शरीरको कुनै भागमा भएको घाउ लामो समयसम्म सन्चो भएन भने त्यसले पनि पछि क्यान्सरको रुप लिन सक्छ।
अनियमित जीवनशैली, रक्सीको अध्याधिक सेवन र वंशानुगत कारणले पनि क्यान्सर रोग लाग्छ। तर पछिल्लो समयमा क्यान्सर बढ्नुको मुख्यकारण वातावरण प्रदूषण समेत रहेको डा बरालको भनाइ छ। वातावरण प्रदूषणले मुख्य गरी फोक्सोको क्यान्सरको जोखिम बढाउने उनको भनाइ छ।
क्यान्सरको शंका लागेमा शंका लागेको सके सम्म स्वास्थ्य संस्थामा चिकित्सकको सम्पर्कमा पुगेर संकास्पद अंगको बायोस्पी, सिटी स्क्यान, हिस्ट्रो प्याथोलोजी रिपोर्ट लिनुपर्छ। क्यान्सर हो भन्ने पत्ता लागेपछि किमो, रेडियो थेरापी मार्फत लामो समयसम्म उपचार गरिन्छ। यदि शरीरको कुनै भागमा क्यान्सर लागेको छ भने त्यसलाई सर्जरी गरेर फाली अन्य अंगमा सर्नबाट बचाइन्छ।
रक्त क्यान्सर बाहेक अरु सबै क्यान्सरको उपचारको लागि सर्जरीसँगै आवश्यकता अनुसार किमो र रेडियोथेरापी गर्नुपर्छ। तर प्रारम्भिक चरणमानै चिकित्सकको मा पुगेर रोग पहिचान गरेर उपचार गरेमा क्यान्सर पूर्ण निको हुन्छ। ‘हाम्रो देशमा अहिलेको मुख्य आवश्यकता भनेको क्यान्सर डरलाग्दो रोग हैन समयमानै पहिचान गरेमा पूर्ण निको हुन्छ, तर रोग लाग्नै नदिन तिर हामी लाग्नु पर्छ त्यसैले सरकारले यसबारेमा रोग लागि सकेपछि उपचार खर्च दिनु भन्दा रोग लाग्नै नदिन जनचेतना फैलाउनु आवश्यक छ’डा बरालले भने।
केही वर्ष अघि सम्म नेपालमा ४० वर्ष माथि उमेर समूहका मानिसमा मात्रै फोक्सोको क्यान्सर देखिने गरेकोमा अहिले २३/२४ वर्षकै उमेर समूहका चुरोट नखाने युवाहरुमा पनि फोक्सोको क्यान्सर देखिन थालेको छ यसको प्रमुख कारण भनेकै बढ्दो वायु प्रदूषण रहेको बताउछन् पुर्वान्चल क्यान्सर अस्पतालका प्रमुख तथा वरिष्ठ मेडिकल अंकोलोजिस्ट डा विरेन्द्र कुमार यादव। डा यादवले भने ' केही वर्ष अघि सम्म हामीले धुमपान गर्नेहरुमा ४० वर्ष पुगेको पछि फोक्सोको क्यान्सर भएको पाउथ्यौं तर अहिले त चुरोट नखाने २३/२४ वर्षका युवा उमेर समूहका मानिसमा पनि फोक्सोको क्यान्सर हुने दर बढ्दो छ यसको प्रमुख कारण भनेकै बढ्दो वायु प्रदूषण हो'।
यस्तै पछिल्लो समय आमाशयको क्यान्सर हुने दर पनि बढ्दै गएको र यसको प्रमुख कारण भनेको दुषीस पानी तथा खाद्य पदार्थ रहेको समेत डा यादवले बताए।
विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा देखिने सबैभन्दा धेरै क्यान्सर मध्ये फोक्सोको क्यान्सर हो। नेपालमा कुल क्यान्सरका बिरामी मध्ये १२ प्रतिशलाई फोक्सोको क्यान्सर रहेको छ।
यस्तै वीर अस्पतालका विभागका प्रमुख डा. विवेक आचार्यका अनुसार यसबाहेक बाहिर कुनै कारण नदेखिए पनि मानिसलाई क्यान्सर हुन सक्ने उनी बताउँछन्। तथापि, सुर्तीजन्य पदार्थको सेवन, फलफूल, तरकारी लगायतका खाद्यानमा अत्याधिक मात्रामा विषदीको प्रयोग, धुलोधुवा प्रदुषण, असन्तुलित आहार, बद्लिदो जीवनशैली, जनचेतनाका कमी लगायतका कारण नेपालमा क्यान्सरको जोखिम बढ्दो छ।
क्यान्सरबाट अपनाउन सकिन्छ यस्तो जीवनशैली अपनाउने
सुर्तिजन्य पदार्थबाट टाढै रहने क्यान्सर हुने कारणमध्ये ८० प्रतिशत सुर्तिजन्य पदार्थको सेवनले हुने गर्दछ। त्यसैले सुर्तिजन्य वस्तुको सेवनबाट टाढै रहनु पर्छ। सुर्तिजन्य पदार्थको सेवनले फोक्सो, किड्नी, ब्ल्याडरको र गर्भाशयको क्यान्सर हुन सक्ने सम्भावना हुन्छ। सुर्ती र गुट्खा खाँदा मुख र पाचनग्रन्थीमा क्यान्सर हुन सक्छ।
नियमित व्यायाम मोटोपन पनि क्यान्सर हुनुको एक प्रमुख कारण भएकाले शरीरको तौललाई नियन्त्रणमा राख्नु पर्छ। मोटोपनको कारण महिलाहरुमा पाठेघर, मूत्रनली तथा स्तनको क्यान्सर हुने सम्भावना रहन्छ।
सन्तुलित खानेकुरा क्यान्सरबाट बच्नका लागि सन्तुलित खानेकुरा खानु पर्छ। फलफूल, हरियो सागपात र गेडागुडी धेरै खानु राम्रो हुन्छ। सकेसम्म पोलेको, बासी, ढुसी आएका खानेकुरा खानु हुँदैन। रासायनिक पदार्थ मिसावट भएका मिठाइ, जंकफुडबाट सकेसम्म टाढै रहेको राम्रो हुन्छ। यस्ता खानेकुरामा क्यालोरीको मात्रा पनि बढी हुन्छ। स्वाद बढाउनका लागि हानीकारक वस्तु प्रयोग गरिएको हुन्छ।
यसका साथै विकिरणहरुबाट समेत टाढा बस्नुपर्छ। कडाखालको घाममा समेत बस्नु हुँदैन। घाममा हुने विकिरणबाट छालाको क्यान्सर हुने सम्भावना धेरै हुन्छ।


























































