बिर्तामोड ।देशभरमै सबैभन्दा धेरै दर्शकको उपस्थिति गराउन सफल डोमालाल रङ्गशालामा केही समयअघि सुस्ताएको फुटबल प्रतियोगिता पुन हुने भएको छ। कोभिड १९ र आर्थिक मन्दीका कारण फुटबल प्रतियोगिता केही समय सुस्ताउँदै गएको अनुभव भएको थियो। तर पछिल्लो चरण झापामा फुटबल प्रेमीहरूको सक्रियतामा झापा ११ फुटबल क्लबलाई सक्रिय बनाउन प्रतियोगिता हुन गइरहेको छ। नेपालका ए डिभिजन लिग खेल्ने खेलाडीदेखि राष्ट्रिय खेलाडीसम्म पनि एकपटक डोमालाल रङ्गशालामा खेल्न चाहन्छन्। हुन त रङ्गशालाको क्रेज नै त्यस्तै छ। उत्कृष्ट रङ्गशाला त्यसमा पनि खेल्न योग्य रङ्गशाला देशमै एकमात्र रहेको खेलाडीहरु स्वयंले बताउँदै आएका छन्। यहाँको फुटबल मैदान देशमै उत्कृष्ट मैदानमा घोषित भइसकेको छ।

झापाको बिर्तामोडस्थित डोमालाल राजबंशी रंगशालामा प्रथम ‘बिर्तामोड झापा कप’ अन्तरास्ट्रिय नक आउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । झापा–११ फुटबल क्लबको आयोजनामा बिर्तामोड झापा कप फुटबल प्रतियोगिता आयोजना गरिने भएको हो । आगामी मंसिर २९ गतेदेखि पुष ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका उत्कृष्ट १० टिमको सहभागिता रहने आयोजकले सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर जनाएको छ । 

प्रतियोगितामा प्रतिष्पर्धा गर्ने टिमसँग समन्वय गर्ने काम भइरहेको आयोजक समितिका संयोजक केशबराज दाहालले जानकारी दिए । प्रतियोगिताको बिजेताले नगद १० लाख, आकर्षक ट्रफी तथा उपबिजेताले नगद ५ लाख रुपैयाँ र ट्रफी पाउने छन् छन् । 

लामो समयसम्म बी डिभिजन फुटबल प्रतियोगिता नहुँदा झापा फुटबल क्लबका खेलाडीहरुमा नैराश्यता उत्पन्न भएको क्लबले जनाएको छ । झापा ११ फुटबल क्लबको भगिनी संस्था झापा फुटबल क्लबका खेलाडीलाई आगामी प्रतियोगिताका लागि तयारी राख्नका लागि पनि प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ ।

प्रतियोगिता  सम्पन्न गर्न ९३ लाख रुपैंया खर्च हुने अनुमान आयोजकको रहेको छ । प्रतियोगिताबाट बचत भएको रकम झापा फुटबल क्लबका खेलाडीको उन्नयनमा खर्च गरिने जनाइएको  छ । 

नेपालमै सबैभन्दा धेरै दर्शकले अवलोकन गर्ने दावी गरिएको झापा गोल्डकप प्रत्येक दुई बर्षमा आयोजना हुन थालेको छ । गतबर्ष छैटौ संस्करण सम्पन्न भएको प्रतियोगिता २०८२ सालमा हुने छ । झापाका दर्शकको स्तरीय फुटबल प्रतियोगिता हेर्ने चाहनालाई मध्यनजर गर्दै यो प्रतियोगिता आयोजना गरिएको झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले बताए ।