तेह्रथुम जिल्लाको आठराई गाउँपालिका–७ थोक्लुङ, स्याङबुङ कार्कीडाँडामा सोमबार दिउँसो करिब ३ः३० बजे विद्युत सर्टका कारण आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।

स्थानीय मोहन चन्द्र गहतराजको घर बन्दगी (भाडा) लिएर विगत ९ वर्षदेखि किराना पसल सञ्चालन गर्दै आएका नरप्रसाद सेडाईको घरमा अचानक विद्युत सर्ट भई आगलागी भएको इलाका प्रहरी कार्यालय संक्रान्ति बजारले जनाएको छ।

आगलागीका कारण घर तथा घरभित्र रहेका लत्ताकपडा, अन्नपात, गरगहना, नगद रकम तथा पसलका विभिन्न सामग्रीहरू जलेर नष्ट भएका छन्। प्रारम्भिक विवरणअनुसार आगलागीबाट करिब ४५ लाख ८५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

घटनामा मानवीय क्षति भने नभएको बताइएको छ। स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइए पनि घर तथा भित्र रहेका कुनै पनि सामान बचाउन नसकिएको स्थानीयहरूले बताएका छन्।

यस घटनापछि स्थानीयवासीहरूमा चिन्ता बढेको छ भने विद्युत सुरक्षामा थप सावधानी अपनाउनुपर्ने आवश्यकता पनि देखिएको छ।